Logo

समाचार

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको सन्सोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् मन्त्रालयले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेश पहिलो संसोधन २०८१ सम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । कर्मचारीको वृत्ति विकासमै लामो समयदेखि समस्या देखिए पछि हल गर्ने प्रयत्न गरेका हौं,’मन्त्री पौडेलले भने ।

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीनसय बढी कर्मचारी संशोधन अभावमा नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।

सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, अब नयाँ नियमावली अनुसार नयाँ करार कर्मचारीलाई लोक सेवामार्फत स्थायी हुने  बाटो समेत खुलेको छ ।

मन्त्रिपरिषद बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ । कर्मचारीको समस्या समाधान भए पछि अब आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ ।

स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा. रायमाझी नियुक्त

मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा डा.अजित रायमाझीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यसअघि कान्ति अस्पतालका दुईपटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् ।

न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन् ।

एमबीबीएस अल इण्डिया इन्स्ट्च्यिुट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पिएचडी गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १२ : ५४ बजे