Logo

मुख्य समाचार

क्रिकेटर सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दामा पुनरावेदन गर्ने रायसहित महान्यायाधिवक्ता कार्यालयमा उच्चले पठायो फाइल



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ ।

उच्च सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार नै फाइल महान्यायाधिवक्ताकोमा पठाएको हो । पीडित गौशाला २६(छ) ले आफू न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको भन्दै मुद्दा नचलाउन निवेदन दिएकी थिइन् ।

त्यसबेला उच्चका कतिपय अधिकारीले नै गौशाला २६(छ) ले ‘आफूमाथि बलात्कार नभएको, आफूले जाहेरी पनि एनजीओको दबाबमा दिएको र सन्दीप निर्दोष रहेको भन्दै निवेदन दिएको’ भनेर गलत प्रचार गरेका थिए । त्यस्तो प्रचारको नेतृत्व गर्ने अधिकारी उच्च अदालत पाटनबाट सरुवा भइसकेका छन् ।

पीडितले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै निवेदन दिए पनि उच्च सरकारी वकिल कार्यालय पाटनले भने मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्तामा फाइल पठाएको हो । अब मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयले नै गर्नेछ ।

पीडित गौशाला २६ को जाहेरीमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको थियो । गत पुस २५ मा भएको उक्त फैसलामा पीडितलाई थप दुई लाख क्षतिपूर्ति हुने भनिएको थियो । तर, पुनरावेदन गएका सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको हो ।

काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै उच्चले सफाइ दिएपछि उच्च सरकारी वकिल कार्यालय पाटनले पुनरावेदन गर्ने राय लेखेर फाइल महान्यायाधिवक्ता कार्यालय पठाएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १२ : ४९ बजे