Logo

मुख्य समाचार

सुनकोसी गाडी दुर्घटना : घाइते ‘डिस्चार्ज’, तीनजना अझै बेपत्ता



काठमाडौं । सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना अझै भेटिएका छैनन् । शनिबार बेलुका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सडकबाट प्रदेश३ख ०२३च ६३६६ हाइलक्स गाडी सुनकोसीमा खसेको थियो ।

उक्त गाडीमा चारजना सवार थिए । तीमध्ये एकजना उपचारपछि ‘डिस्चार्ज’ भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं डीएसपी अनिल खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भई उपचारपछि डिस्चार्ज हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका २७ वर्षीय सुशान्त कक्षपति छन् । सिन्धुलीकै खुर्कोटस्थित अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएका डीएसपी खड्काले बताए ।

उनले आफूले हाम फालेर ज्यान जोगाएको बताएका छन् । हाल उनी प्रहरीको सम्पर्कमा छन् ।

बेपत्ताको खोजीकार्य जारी छ । बेपत्ता हुनेमा गाडी चालक सूर्यविनायक नगरपालिकाकै ३२ वर्षीय अबिन बके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरू चारैजना साथी रहेका र खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरी फर्कंदै गर्दा दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ६०–६५ मिटर तल सुनकोसीमा खसेर बेपत्ता भएको थियो । जीप भेटेर आइतबार बिहान करिब २ बजे नदी किनारामा ल्याइए पनि त्यसमा सवार तीनजना फेला नपरेको डीएसपी खड्काले बताए ।

“घाइते (सुशान्त कक्षपति)ले गाडीमा अगाडि बसेका चालकसहित दुईजनाले सिटबेल्ट लगाएको बताएका थिए,” उनले भने, “त्यही आधारमा उहाँहरू गाडीभित्र भेटिने अनुमान थियो । तर, भेटिएन ।”

बेपत्ताको खोजीमा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोरसहितको टोली खटिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १ : १३ बजे