Logo

समाचार

सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको छ : मन्त्री श्रेष्ठ



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्द्वारा आज आयोजित ‘सामाजिक सुरक्षाको वर्तमान अवस्थाः आगामी कार्यदिशा’ बिषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले कोषमा आवद्ध भएकाहरुका आश्रित परिवारले पेन्सन पाउन थालेपछि यसप्रति आकर्षण र विश्वसनियता पनि बढेको बताए । 

सामाजिक सुरक्षा कार्यक्रमहरु कार्यन्वयन गर्न यस्तै प्रकृतिका अन्य निकाय समेत हुँदा कतिपयलाई अन्योल रहेको बताउँदै मन्त्री श्रेष्ठले कोषले प्रदान गर्ने सुविधाहरु अन्यत्रबाट प्राप्त गर्न कठिन रहेको बताए । श्रेष्ठले सामाजिक सुरक्षा कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रित परिवारको सुरक्षा र बृद्धावस्था सुरक्षा सुविधाहरु उपभोग भइरहेको बताए । साथै उनले कोषका क्षेत्रहरू बृहत् र विस्तार हुँदै जाँदा सवै क्षेत्रका श्रमिकहरु आबद्ध हुँदै जाने विश्वास व्यक्त गरे । 

आगामी दिनमा यसबाट प्रदान गरिने सुविधाहरु वृद्धि हुँदै जाने विश्वास दिलाउदै उनले सामाजिक सुरक्षाका मुल्य मान्यता एवं सिद्धान्त, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास एवं मुलुकको आर्थिक एवं सामाजिक परिवेशलाई दृष्टिगत गरी यसलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकको रूपमा अङ्गीकार गरेको बताउदै असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको सुरक्षाका लागि उचित पुनर्स्थापना, रोजगारी र सुरक्षाको व्यवस्था गर्ने राज्यको नीति रहेको बताए ।  

०७५ मंसिर ११ मा घोषणा भई २०७६ साउनदेखि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा श्रमिकहरुको योगदान सुरु भयो । नेपालको परिप्रेक्षमा नौलो योजना र कानुनी जटिलताले कार्यान्वयनको सुरुवातमा केही अप्ठ्यारो र असहज भएपनि पछिल्लो समय कोषमा आवद्ध हुने रोजगारदाता र श्रमिकको संख्या वृद्धि हुँदै गएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धताको संख्या अहिले कम देखिएपनि अन्य मुलुकको तुलनामा भने छोटो समयमै उल्लेख्य प्रगति भएको मन्त्री श्रेष्ठले बताए । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  २ : ५४ बजे