Logo

मुख्य समाचार

गट्ठाघरमा दुर्घटनामा परेका ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला


३२ श्रावण २०८१, शुक्रबार  

161
Shares

काठमाडौं । बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा दुर्घटनामा परेर मृत्यु हुनेमा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि भएको छ । उनका परिवारका सदस्यले आज सनाखत गरेका हुन् । उनी ओखलढुंगा चिसंखुगढी गाउँपालिका– खहरे तलुवाका भएको पुष्टि भएको छ ।

काठमाडौंको कपनमा बस्दै आएका उनी हिजो भक्तपुर गएको परिवारका सदस्यलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ । बिहीबार ट्रकले ठक्कर दिँदा उनको शरीर क्षतविक्षत् अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन ।

बिहीबार अपराह्न १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिरहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडकमा रोक्न लगाए, स्कुटर रोकियो ।

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झन्डै एक सय मिटर परसम्म घिसारेर लग्यो ।

स्कुटर चालकको शरीर क्षतविक्षत बन्यो । दुर्घटना हुनबित्तिकै मानिस जम्मा भए । त्यो भिड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भिड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो ।

सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भिडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भिड र प्रहरीबीच ढुंगा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : १० बजे