Logo

समाचार

विश्वप्रकाश: कांग्रेस रूपान्तरण प्रारम्भ भयो



काठमाडौं: कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित हुने पक्का भएको छ । अहिलेसम्म ४१९० मत गणनामा गगन थापाले सबैभन्दा बढी २७०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका शर्माले १७३६ मत ल्याएका छन् । उनीपछि रहेका प्रकाशशरण महतले १३८६ मत प्राप्त गरेका छन् । गन्न बाँकी मत र अन्तर हेर्दा शर्मा पनि दोस्रो स्थानमा रहँदै महामन्त्रीमा निर्वाचित हुने देखिएको छ । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो जित सिंगै कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताए ।

उनले भने, `यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो ।` त्यस्तै उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए । उनले अगाडि भने, `मैले बोल्नुपर्ने धेरै छ । सुन्दरीजलस्थि बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु ।` उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सुन्दरीजलबाटै गरेका थिए ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४७ बजे