Logo

समाचार

काँग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्बाट शुरु हुने



काठमाडौ‌ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको मतगणना गरिने छ । काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलवार पुनः मतदान भएको थियो ।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको थियो । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गर्नुभएको थियो । सभापतिका प्रत्यासी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गर्नुभएको थियो । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ४७ बजे