Logo

धर्म / संस्कृति

को हुन् गुरु ?



स्वामी ध्यान आशिष

मानव जीवनमा अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने व्यक्तिलाई गुरु भनिन्छ । ‘गु’को अर्थ हुन्छ अन्धकार (अज्ञान)एबं ‘रु’को अर्थ हुन्छ प्रकाश(ज्ञान)अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी प्रकाशतर्फ लिएर गइ जीवनको मार्गदर्शन गर्ने व्यक्तिलाइ गुरु भनिन्छ । मानव जीवनमा गुरुको महिमा अपरम्पार रहेको छ ।

गुरु ब्रम्हा, गुरु बिष्णु , गुरु देबो महेश्वर ।
गुरु साक्षत परब्रम्हातस्मै श्री गुरुवे नम ।।

अर्थात यो सृष्टिका रचनाकार (ब्रम्हा) पनि गुरु, संचालनकर्ता (बिष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर)पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्व हुन् जसबाट यो चराचर जगत संचालित छ । त्यस्ता सद्गुरुदेबलाई मेरो सादर प्रणाम छ ।

‘अज्ञान तिमिरान्धश्च ज्ञानांजन शलाकया, चक्षुन्मिलितम् तस्मै श्री गुरु बै नम’ अर्थात जसले ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारमा अन्धा भएका व्यक्तिहरुको आखा खोल्दछन, ति सब गुरुलाई सादर प्रणाम छ । सनातन हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा पनि माथिको दर्जा दिइएको छ । भनिन्छ असल गुरुको प्राप्ती अथवा छनोट अधिकांश समस्या र दुबिधाहरुको निरोध हो ।

तथापि आधुनिक युगमा असल गुरु र असल शिष्य दुबैको पहिचान गाह्रो छ । २०औं शताब्दीका महान गुरु ओशो भन्नुहुन्छ, गुरु पूर्वीय चेतनाको खोज हो । पश्चिमी भाषामा गुरु जस्तो कुनै शब्द छैन । गुरु त त्यहि व्यक्ति हुनसक्छ जसमा गुरुता उपलब्ध भएको होस् । जसमा अन्तिम महिमा उपलब्ध भएको होस् । जसले परमसत्य जानेको छ त्यहि गुरु हुन सक्छ । ओशोको दृष्टिमा गुरु त्यो हो जसमा अन्तिम घटना घटेको छ । अनि जो समाधिष्ठ भएको छ । जो परमात्मासंग एक भएको छ ।

गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्बकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पुर्णिमा वा ब्यास पुर्णिमा भनिन्छ । आषाढ महिनाको पुर्णिमामा ब्यास ऋषिको जन्म दिन समेत भएकाले यसलाई गुरु पुर्णिमा वा ब्यास पुर्णिमा भनिएको हो । भगवान गौतम बुद्धले पनि बुद्धत्व प्राप्त गरेपछि असार पुर्णिमाको दिनमा पहिलो पटक सारनाथमा पंचभद्रलाइ उपदेश दिएका थिए । भनिन्छ त्यसैदिन बुद्धले पंचभद्रलाई दिक्षा दिएका थिए ।

पूर्णिमा भन्नाले पूर्णचन्द्र अर्थात कुनैपनि कर्मको पूर्णताको अवस्था भनेर बुझिन्छ । त्यसैले गुरु पुर्णिमालाई मानव प्राणीमा भएको अन्धकारको अन्त्य भइ ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनको उत्सवको रुपमा पनि यसलाई मनाउने गरिन्छ । आषाढ शुल्क पक्षको पुर्णिमामा आफूलाई शिक्षा, दिक्षा एवम मोक्षको बाटो प्रदान गर्ने गुरुहरुप्रति श्रध्दा प्रकट गर्दै अनि गुरुको महिमा गाउँदै उत्सव मनाउने गरिन्छ । गुरु पुर्णिमाको निकै पुरानो इतिहास र महत्व हिन्दु सनातन धर्म संस्कृतिमा छ । प्रशिध्द हिन्दु शास्त्र बेदहरुको संकलन, सम्बर्धन र महाभारतको रचना गरेका महान महर्षि श्री कृष्णद्देपायन अर्थात बेद्ब्यासजी आषाढ शुल्क पक्षको पुर्णिमामा जन्मेका थिए । उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरुलाई आफ्नो ध्यान, साधना र तपोबलले एकत्रित र रचना गरि मनुश्यतालाई ठुलो योगदान दिएका छन् ।

गुरु शिष्य परम्परा पूर्वीय दर्शनको एक अमूल्य सम्पदा हो । शिष्यले सदगुरु भेट्टाउनु जीवनको महत्वपुर्ण उपलब्धि हो । अध्यात्ममा जसलाई जाग्नु छ उसले वहुत सावधान भएर मार्गदर्शक छान्नु पर्दछ । महान गुरु ओशोको भनाई अनुसार बहुत होशपूर्वक जीवनमा अघि बढियो भने अनि बहुत बिचारपूर्वक कदम राखियो भने सायद सद्गुरुसँग मिलन हुनसक्छ । गुरुलाई त्यसले नै खोज्नसक्छ जसभित्र प्रकाशको खोज पैदा भएको छ । जसको भित्र सत्य जान्ने तिब्र अभिलाशा जागेको छ ।

ओशोकै शब्दमा भन्नुपर्दा जो भित्र सत्य पिउने अभिप्सा जन्म भएको छ त्यही व्यक्तिले गुरुलाई खोज्नसक्छ । त्यस्तो व्यक्ति नै शिष्य हुन सक्छ । शिष्यको अर्थ विद्यार्थी होइन । यदि कोही वास्तवमा शिष्य छ भने मात्र गुरु पाउन सक्छ । शिष्यको अर्थ हुन्छ कोही शिष्य चढाउन राजी हुन्छ । जो प्रार्थना सिक्न आउँदैन प्रार्थनामय हुन आउँछ । शिष्य त्यो हो जो गुरुको आभामंडलमा समाहित हुन् तयार हुन्छ । शिष्यमा बुद्धत्व उपलब्ध हुने संभावना हुन्छ ।

भनिन्छ, जब शिष्य तयार हुन्छ तब सद्गुरु प्रकट हुन्छ । गुरु त्यो हो जसले अन्धकारलाई अलग गरिदिन्छ । सद्गुरु ओशो भन्नुहुन्छ गुरुको अर्थ शिक्षक होइन । गुरुको अर्थ अध्यापक होइन । गुरुको अर्थ व्याख्याता होइन । आचार्य होइन । गुरु शब्दको कुनै पर्याबाची शब्द नै छैन । गुरु शब्द नै अनौठो शब्द हो । गुरुलाई तब खोज्न सकिन्छ जब मान्छेभित्र प्रकाश खोज्ने आकांक्षा उम्लिन थाल्दछ । सद्गुरु जब यस धर्तीमा आउँछन मान्छेहरुले चिन्न सक्दैनन् । सद्गुरुलाई नचिन्ने मात्र होइन मान्छेहरु विरोधमा उत्रन्छन । विरोधमा मात्र उत्रने होइन मान्छेहरु सद्गुरुलाई हत्या गर्न उद्दत रहन्छ ।

असार पुर्णिमालाई किन गुरु पुर्णिमाको रुपमा मनाइयो भन्ने सन्दर्भमा महान गुरु ओशोले अदभुत विश्लेषण गर्नु भएको छ । असार पुर्णिमा बहुत अर्थपूर्ण छ । असार पुर्णिमालाई चुन्नेहरुले इसारा गरेका छन । गुरु त पुर्णिमा जस्तो हुन्छ अनि शिष्य हुन्छ असार जस्तो । शिष्यहरू जन्मदेखिका अध्यारो लिएर आएका हुन्छन । काला बादलहरु लिएर आएका हुन्छन । सारको मौशममा पनि गुरु चन्द्रमा जसरी चम्कन सक्छ । अध्यारोले घेरिएको वातावरणमा पनि उज्यालो पैदा गर्न सक्ने नै गुरु हुन्छ । त्यसकारण असार पुर्णिमा छानिएको हो । त्यसमा गुरुतर्फ पनि इशारा छ अनि शिष्यतर्फ पनि ।

गुरुले शिष्यको अँध्यारोले घेरिएको हृदयमा प्रकाश पुर्याउनु छ । गुरुलाई चन्द्रमाको रुपमा प्रतिक दिइन्छ । मनीषीहरुले धेरै सोचेर चन्द्रमालाई गुरुको प्रतिक चुनेका हुन् । चन्द्रमामा पनि प्रकाश आफ्नो हुँदैन । प्रकाश त सुर्यको हुन्छ । गुरुसँग पनि प्रकाश आफ्नो होइन परमात्माको हो । त्यो केवल प्रतिफल हो । जसरी सुर्यतर्फ सिधा हेर्न मुस्किल हुन्छ त्यसैगरी परमात्मातर्फ सिधा हेर्न सकिदैन ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ४० बजे