Logo

मुख्य समाचार

अर्थमन्त्री शर्मा: सेयर बजारमा देखिएका समस्याको समाधान हुन्छ



काठमाडौं : अर्थमन्त्री जनार्द्धन शर्माले सेयर बजारमा देखिएका समस्या समाधान हुने बताएका छन्। मंगलबार सेयर लगानीकर्ताको भेटका क्रममा मन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको उल्लेख गर्दै कार्यदलले उठाएका मागहरु पूरा गर्ने आश्वासन दिएका थिए।

मन्त्री शर्माले पुँजी बजारको दिगो विकास र विस्तारका लागि आफू सकारात्मक रहेको र धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ति पनि चाँडै हुने बताए। सेयर लगानीकर्ताको विभिन्न सङ्घ- संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए। भेटका क्रममा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को नियुक्ति, ५८ बुँदे मागका बाँकी कामलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।

मंगलबार शेयर कारोबार मापन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको कारोबार बन्द भएको थियो। कारोबार भएको १ घन्टा नबित्दै नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो। त्यसपछि खुलेको बजारमा नेप्से ६ प्रतिशतले बढेपछि बाँकी कारोबार बन्द गरिएको थियो।

बजार खुलेको पहिलो घन्टामा नेप्‍से  ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ भएका ४० मिनेट र तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा त्यो यो दिनको बाँकी कारोबार स्थगित गरिने प्रावधान छ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरलाई साम्राज्यवादीको विकास रुप भएको बताएका थिए। दाहालले नकारात्मक टिप्पणी गरेसँगै सो दिन नेप्से सूचक १६८ अंकले घटेर २२८१.६७ अंकमा झरेको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : १९ बजे