Logo

मुख्य समाचार

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एयरपोर्टबाट तीनजना पक्राउ


२४ श्रावण २०८१, बिहिबार  

184
Shares

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीनजनालाई बुधबार (हिजो) दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका–२२ का ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० का ४९ वर्षीय मानव आचार्य र काठमाडौं–१४ का ३० वर्षीय दिपेश भुसाल छन् ।

थाई एयरवेजको उडानमार्फत उनीहरू काठमाडौंबाट थाइल्यान्डको बैंकक जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा विभिन्न विदेशी मुद्रासहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

महेशमानका साथबाट युरो १६ हजार ५५० र क्यानेडियन डलर १० हजार ९००, मानवका साथबाट युरो आठ हजार ९५० र थाई भाट तीन हजार ६६० र दिपेशका साथबाट युरो १३ हजार ४००, स्वीस फ्रान्क दुई हजार ४००, क्यानेडियन डलर चार हजार ५००, साउदी रियाल १९ हजार, थाई भाट दुई हजार र जापानी येन चार लाख ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ०१ बजे