Logo

समाचार

नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेका छन्ः प्रा.डा.केसी



काठमाडौं । राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा आयोजित साक्षत्कार कार्यक्रममा उनले नेपालमा पनि बंगलादेशको अवस्था सिर्जना हुन सक्ने बताए ।

उनले भने, ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमा आउने होला ? भन्ने धेरैको जिज्ञासा देखियो । कतिको त अपेक्षा नै चाँडोभन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ । मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन,’

बंगलादेशमा शेख हसिनाको शासकीय शैली विगतदेखि नै आलोचित रहँदै आएको उनको भनाइ छ । हसिनाले पारिवारिक विरासतमा उक्त जिम्मेवारी पाएको उनले टिप्पणी गरे । आफ्नो कार्यकालमा उल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको उनको भनाइ छ ।

उनले नेताहरुले के–का लागि राजनीति गरेका रहेछन् ? भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगलादेशको जस्तो उथलपुथल चाहेको दाबी गरे ।

उनले भने, ‘अब हामीले पनि आफूलाई परिमार्जन गर्न जरुरी छ । किनभने हामीले धरै कुरा देख्यौं नि त । नेताहरुले के–का लागि राजनीति गरेको रहेछ ? के–का लागि बलीवेदीमा चढाइएको रहेछ भन्ने कुरा त हामीले राम्रोसँग देख्यौं नि ।नेताहरुले राजनीतिलाई ब्राण्डिङ गरेर उद्योग गरेको रहेछन् भन्ने कुरा त नाङ्गो भइसक्यो । त्यही भएर नेपाली जनता पनि चाँडै बंगलादेशको जस्तो हुनपर्यो, नेताहरुलाई कुट्न पर्यो भन्न थालेका छन् । मैले देख्दा यो अलि उत्तेजक दृष्टिकोण हुन्छ । त्यो कुरा होईन, बंगलादेशबाट हामीले सिक्ने हो ।’

यस्तै, बंगलादेशका लागि पूर्व नेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको बताए । हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको उनको दाबी छ ।

उनले भने, ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन । शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन् । उनी आफैं पनि बलिदानी परिवारको छोरी हुन् ।’

हसिनाको पालामा बंगलादेशले मुहार फेरेपनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको आरोप छ । बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए ।

उनले भने, ‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरु सिर्जना भए । भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए । अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो । एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने । मोहम्मद युनिस नोबेल पुरस्कार बिजेता, उहाँ त गौरव हो नि । उनले पनि थुनामा जानुपर्ने भयो । वुद्धिजिवी निसास्सिएर बस्नुपर्ने भयो ।’

साथै, सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको उनको आरोप छ । उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकतामात्रै रहेको बताए ।

बंगलादेशको घटनाबाट पाठ सिकेर अब नेपालका नेताहरुले जनताले चाहेको सुशासनको कुरालाई बिर्सन नहुने उनको भनाइ छ । जनतालाई दिएको वचन, वाचा र जल्दाबल्दा समस्यालाई सम्बोधन गर्नेगरी नेताहरुले आफूलाई करेक्सन गर्न आवश्यक रहेको उनले बताए ।

बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् ।

बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको  बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : १५ बजे