Logo

मुख्य समाचार

सिंहलाई फकाउँदै देउवा: देउवाले गृहमन्त्री खाँणलाई पठाए सिंहलाई भेट्न चाक्सीबारी



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

आज बिहान सकिएको सभापतिको मतगणनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८२ भोटले बहुमत पुर्‍याउन सकेनन् ।

कुल खसेको ४६७९ मतमध्ये देउवाले २२५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

अब देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको निर्वाचन हुने भएपछि नेताहरुको दौडधुप बढेको छ । झन् वर्तमान सभापति शेरबहादुर देउवाको लागि त दोस्रो चरणमा जानु झनै कठिन पर्ने देखिएको छ । यदि देउवाकोविरुद्वमा लडेका अन्य उम्मेदवारहरु एक भएर गएभने देउवालाई हराउन सक्ने देखिएको छ ।

यसैबीच, प्रधानमन्त्री देउवाले प्रकाशमान सिंहलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँडलाई सिंह निवास चाक्सीबारी पठाएका छन् ।

सभापतिका प्रत्याशी एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई फकाउने चाक्सीबारी पठाएका हुन् । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ४५ बजे