Logo

मुख्य समाचार

कृत्रिम रूपमा सेयर बजार बढाइयो, सरकारको ध्यान जाओस् : अमरेश सिंह



काठमाडौं । सांसद डा. अमेरशकुमार सिंहले सेयर बजारमा सोझा जनतालाई ठग्न खोजिएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सेयर बजारमा चलखेल भइरहेको भन्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

सरकारको नियमन नहुँदा सहकारीको मारमा नेपाली जनताले अर्बाै रुपैयाँ गुमाएको टिप्पणी गरे । त्यसरी नै अहिले कृत्रिम तरिकाले सेयरको भाउ बढाइएको उनको भनाइ छ ।

उनले ब्रोकर र इन्भेस्टरको र्काटेलिङबाट एक महिनामा एउटा कम्पनीको मूल्य ६०० बाट २१५४ रुपैयाँ पुगेको बताए ।

उनले नेपाल फाइनान्स लिमिटेडको एक महिनाअघि ६०० रुपैयाँ रहेको सेयरको भाउ एक महिनापछि २१५४ पुगेको बताए । “१३४ रुपैयाँ बुक भ्यालु छ, नाफा र आम्दानी हेर्दा त्यसको मूल्य कसरी यति भयो,” उनले प्रश्न गरे ।

यस्तै, एनआरएन इन्फ्रास्टक्चर र डेभपलपमेन्ट लिमिटेड, सीईडीबी हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्यको बुक भ्यालु निकै कम हुँदाहुँदै कृत्रिम रूपमा आकासिएको उनको भनाइ छ ।

उनले लगानीकर्ता र ब्रोकरको सिन्डिकेटले यस्तो भइरहेको आरोप लगाए । अनलाइन क्लबहाउस र सोसल मिडियाबाट प्रोपागान्डा एवं कर्नरिङ गरेर जनतालाई ठग्न खोजिएको बताए ।

उनले नेप्से, राष्ट्र बैंकले यसलाई राम्रोसँग नियमन गर्नुपर्ने बताए । “म सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, गरिब र अशिक्षित जनताको अर्बौं रुपैयाँ ठगी गरेर, कृत्रिम बजार बनाएर जनतालाई ठगी गर्ने कम बन्द गरियोस् र यसको छानबिन समिति गठन गरेर त्यस्ता सेयर कारोबारीलाई कारबाही गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ४१ बजे