Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनः बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन पाउने



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गरेकामध्ये कोहि फिर्ता लिन इच्छुक भए आज मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्।

शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए। सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय गए राति १२ बजेसम्म रहेको थियो ।

आज बिहान ११ बजेभित्र मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय छ। आजै उम्मेदवारको अन्तिम नामावली मध्यान्ह सवा १२ बजे प्रकाशन गर्ने तालिका छ।

मतदान भने सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : ०४ बजे