Logo

समाचार

टाइगर प्यालेस संचालक भन्छन् : ‘माफियाहरुको चलखेल सुरु भयो’


११ श्रावण २०८१, शुक्रबार  

161
Shares

काठमाडौं । लामोसमय बन्द रहेको रूपन्देहीको तिलोत्तमा-१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा गत चैतदेखि क्यासिनो संचालनमा आयो । त्यसका साथसाथै होटल पूर्ण सञ्चालनमा आएको संचालकहरुले पत्रकार सम्मेलन गरेर खुशी व्यक्त गरे । तर पछिल्लो समय होटल बन्द गराउने उद्देश्यले विभिन्न प्रपन्चहरु सुरु भएको संचालकहरु स्वयम दुःख व्यक्त गर्न थालेका छन् ।

गैरआवासीय नेपालीहरुको समूहले खरिद गरेको रिसोर्ट लामो समय संचालनको अन्योलमा परेको थियो । पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरिएको भएपनि होटल बन्द गराउन ‘माफियाको चलखेल’ सुरु भएको संचालकहरुले दुःखेसो गरेका छन् ।

‘दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्नेगरी रिसोर्ट पूणर् सञ्चालनमा ल्याएका हौं । माफियाको चंगुलमा परेर करोडौको घाटा व्यहोरेर लगानीकर्ता फर्किएको, कम्पनी बन्द भइसकेकालाई पुनः जोगाएका छौं । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा हुने बेइजत रोक्न गैरआवासीय नेपालीहरुले चुनौती सहेर लगानी गरेका हौं । तर पछिल्ला दिनमा पर्यटन क्षेत्रको प्रगति देख्न नसक्ने र समृद्धि नचाहने माफियाहरु सलवलाइरहेका छन् । दुःख दिने प्रयासमा छन्,’ टाइगर प्यालेसका अध्यक्ष वुद्धि सुवेदीले भने ।

विभिन्न चुनौतिका बावजुत होटल र क्यासिनो नेपालको कानुन अनुसार खरिद गरि नियमानुसार संचालन ल्याएको तीन महिना नवित्दै केही माफियाहरु फेरि चलखेलमा लागेको आफूहरुले थाहा पाएको सुवेदीले बताए । विभिन्न अवरोधका कारण करिव चारअर्व भन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा संचालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । क्यासिनो वन्द हुँदा करिव चारसयको रोजगारी गुम्ने भएको छ भने करोडौको सरकारी राजश्व पनि क्षति भएको संचालकहरुको भनाइ छ ।

‘केही माफियाहरुले मिडिया प्रयोग गरि राष्ट्रसेवक कर्मचारी तथा उच्च अधिकारीहरुलाई आर्थिक चलखेलको आरोप लगाउने, निराधार हल्ला फिँजाउने, झुटा र कपोकल्पित समाचार लेख्न लगाई मानमर्दन गरिरहेका छन् यो कुरा गलत हो,’ होटल संचालक दिपक गौतमले भने,‘आफैंले लेख्न लगाएका समाचार सामाग्री केही अनलाइन संचारमाध्यममा प्रकाशन गर्न लगाउने, सम्वन्धित अधिकारीलाई लिंक पठाएर त्रास फैलाउने, धम्की दिने काम भइरहेको प्रमाणहरु छन् । जसका कारण नियमानुसार पाउनुपर्ने क्यासिनोको लाइसेन्स रोकिएको छ,’ उनले थपे । कपोकल्पित र भ्रामक हल्ला फिजाउनेविरुद्ध आफूहरु कानुनी उपचारमा जाने उनले बताए ।

टाइगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो संचालन गर्न दिनेगरि गत वैशाखमै सहमति प्रदान गरेको थियो । क्यासिनो अनुमति आवेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालीले नियमानुसार प्रक्रिया पुर्याएर तोकिएको समयमा आबेदन दिएको पनि गौतमले जानकारी दिए । गत आषाढ मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाईसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इनभेष्टमेन्ट प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौ इनभेष्टमेन्ट प्रालिको नाममा १० प्रतिशत शेयर रहेको उनले बताए ।

एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासनो संचालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिव ५१ करोड राजश्व तिर्न सकेको थिएन् । त्यसका अलावा काठमाडौमा संचालित सांग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा संचालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरि धेरै रकम तिर्नुपर्ने भएका कारण आफैंले क्यासिनो संचालन गर्न नसक्ने अवस्था भएकाले संचालकहरु क्यासिनो संचालन नगर्ने निणर्यमा पुगेका थिए ।

एसएमएसके कम्पनी गत आर्थिक बर्षमा एक अर्व २० करोड घाटामा थियो । सोही घाटा पुर्ति गरि कम्पनी नाफामा लैजान कठिन भएको भन्दै सबै शेयरधनीको सहमतिमा साधारण सभाले कम्पनी बन्द गर्ने निणर्य गरेको थियो । साधारण सभामा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीको तर्फबाट संचालकहरु बुद्धीसागर सुबेदी र दिपक गौतम तथा टाइगर काठमाडौं इनभेष्टमेण्ट प्रालिको तर्फबाट संचालक सदस्य संचित श्रेष्ठको हस्ताक्षर रहेको थियो ।

साधारणसभाको सोही निणर्य बमोजिम एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१।८२ का लागि क्यासिनो नवीकरणको आबेदन गरेको थिएन भने रिसोर्ट संचालक टाइगर वान कम्पनीलाई समयमै आफूले क्यासिनो संचालन गर्न नसक्ने जानकारी दिएको थियो । १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौ इन्भेष्टमेन्ट प्रालिका तर्फबाट संचालक सदस्य श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए ।

उनकै प्रस्ताव अनुरुपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न संचालक सदस्यहरु सहमत भएको गौतमले बताए । ‘नेपालको नियम कानुन अनुसार काम गर्ने र नेपालको विकासमा टेवा पुर्याउन विदेशमा लगानी गर्दा तुरुन्तै मुनाफा लिनसक्ने अवस्थालाई छाडेर आफ्नै मातृभूमिमा लगानी गर्न आएका हौं । अध्यक्ष सुबेदीको अगुवाइमा इमान्दारीपूर्वक लाभकर, र क्यासिनोको बक्यौताबापतको करिव ५५ करोड नेपाल सरकारलाई बुझाएका हौं । त्यतिमात्र होइन कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्या समेत हल गरेका छौं । काठमाडौमा रहेको होटेल सांग्रिला हाल संचालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भएपनि टाइगर वानमा भएको श्रमिक समस्या हल गरिसकेका छौं । तर यहाँ खराब खेल भइरहेको छ,’ संचालक गौतमले सुनाए ।

यता अध्यक्ष सुवेदीले नियमित रुपमा व्यावसाय संचालनमा आएमात्र अन्य समस्याहरु समाधान हुँदै जाने तर व्यावसाय नै बन्द गराएर देशले केही नपाउने बताए । व्यवसाय आफ्नो ठाउँमा छ, विदेशमा कमाएको रकम मातृभूमिमै ल्याएर लगानी गरौँ भन्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याएका हौं,’ उनले भने । बन्द हुन लागेको रिसोर्ट सञ्चालन हुँदा नेपालमा रोजगारी सिर्जना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरुप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको अध्यक्ष सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ३ : ०८ बजे