Logo

मुख्य समाचार

माओवादी केन्द्रले आज प्रदेश सम्मेलन गर्दै, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले आज प्रदेश सम्मेलन गर्दैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।

अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश-१ को विराटनगर, प्रदेश-२ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ ।

प्रवास समितिको सम्मेलन भने आज नहुने बताइएको छ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

प्रदेश -१ मा २५९, प्रदेश-२ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : २५ बजे