Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुँदै



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा हिजो उद्घाटन सत्र साथै राति १० बजे बन्दसत्र सम्पन्न भइसकेको छ । बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन् ।

यसैगरी बन्द सत्रमा १४ औं महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पनि अनुमोदन भएको छ ।

कार्यतालिकाअनुुसार आज बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म रहेको छ ।

यस्तै, मनोनयनपत्र फिर्ताका लागि भोलि आइतबार बिहान ११ बजेसम्म तोकिएको छ । यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५८ बजे