Logo

मुख्य समाचार

बन मन्त्रालयसँग सम्बन्धित कानूनलाई जनमैत्री बनाउन आवश्यक : सांसद बर्तौला



काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले बन मन्त्रालयसँग सम्बन्धित कानूनहरु जनमैत्री बनाउनुपर्ने बताएका छन् ।

बुधबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको विषयमा बनमन्त्रालयसँगको दफावार छलफलमा बोल्दै सांसद बर्तौलाले देशमा बनजंगलका कारणले अहिले पनि विकास, निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभाव पारिरहेको बताएका हुन् ।

उनले भने, ‘बनमन्त्रीज्यूसँग मेरो आग्रह छ, बनसँग सम्बन्धित धेरै कानूनहरु बनिरहेका छन् । जनमैत्रि बनाउनुपर्छ । देशमा गणतन्त्र आएको भएपनि देशमा बनजंगलका कारणले अहिले पनि विकास निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभावहरु परेका छन् । यस्तो प्रभाव कम गर्न मध्यवर्तिको परिषभालाई समय अनुकुल बनाउँ, संरक्षित क्षेत्रको परिभाषा व्यवस्थित गरौं । बनसँग सम्बन्धित कानूनहरुमा संरक्षित क्षेत्रहरुलाई परिभाषित गरिएका छैनन् ।’

बनेका कानूनहरुको कार्यान्वयनको पक्ष फितलो भएका कारण सांसदहरुले गाली खानुपरेको बर्तौलाको भनाइ छ ।

उनले जनमैत्री कानून बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यतामा समितिहरुले काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘नेपालको कानून निर्माणको आजसम्मको प्रक्रियामा देखिएको सबैभन्दा डरलाग्दो खतरनाक पक्ष सहि कार्यान्वयन भएन भने सांसदले गालि खानुपर्दछ । आज पनि हामी कसरी जनमैत्री कानून बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यता छ । मन्त्रालयबाट लिने सुझाव सल्लाह त लिन्छौं नै तर यसको निर्णायक क्षेत्र त्यो होइन । हामी हौं ,’ उनको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : २० बजे