Logo

खेलकुद

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल



काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणमै रोकिएको छ । श्रीलंकामा जारी प्रतियोगितामो समूह एमा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन लागेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो । उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुआत गरेको नेपालले त्यसपछि पाकिस्तान र भारतसँग पराजय भोग्न पुग्यो । मंगलबारको खेलमा भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर १७८ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा नेपालको टोली निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रनमा रोकियो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २२ रन बनाउँदा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले ।
विशाल लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट हुँदा एक चौका प्रहार गरिन् ।

सितालाई साथ दिन आएकी कविता कुँवर पनि धेरैबेर टिकिनन् । कविताले ११ बलमा ६ रनको पारि खेल्दा एक चौका प्रहार गरिन् । नेपालले कवितालाई दोस्रो विकेटको रुपमा गुमाउँदा ४.४ ओभरमा २१ रन बनाएको थियो । सिता र इन्दू मिलेर पारि सम्हाल्ने प्रयास गरेको थियो । ९.२ ओभरमा ४३ रन बनेका बेला इन्दूको विकेट गुम्यो । इन्दूले १८ बलमा २ चौकाको मद्दतले १४ रन जोडिन् । चौथो विकेटको रुपमा ओपनर सिता आउट भइन् । उनले २२ बल फेस गर्दा ३ चोकाको मद्दतले १८ रन जोडेकी थिइन् ।

१३.४ ओभरमा टिमको स्कोर ६४ रन हुँदा नेपालले पाँचौं विकेट गुमाएको थियो । नेपालकी रुविना क्षेत्री १६ बलमा १५ रन बनाएर आउट भइन् । कविता जोशी खाता नखोल्दै आउट हुँदा पुजा महतोले २ रन बनाइन् । डोली भट्ट ५ रन बनाएर आउट हुँदा नेपालले १६.२ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनाएको थियो । यसैगरी विन्दू रावलले नटआउट १७ रन बनाउँदा काजल श्रेष्ठले ३ रनमा आउट भइन् । यस्तै, सवनम राई १ रनमा नटआउट रहिन् ।

भारतका लागि दीप्ती शर्माले ३ विकेट लिँदा अरुणधति रेड्डी, दीप्ती शर्मा र राधा यादवले दुई दुई विकेट लिए । श्रीलंकाको दाम्बुलामा भारतकी कप्तान स्मिृति मन्धनाले टस जितेर पहिला ब्याटिङ राजेकी थिइन् । भारतका नियमित ओपनर सेफाली बर्मा र दयालन हेमलता क्रिजमा आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । उक्त साझेदारी नेपालका सिता रानामगरले तोडेकी थिइन् । १४ औं ओभरमा सिताले रुविना क्षेत्रीबाट आउट गराइन् ।

पहिलो विकेटको रुपमा दयालन हेमलता ४२ बलमा ४७ रन बनाएर पभेलियन फर्किइन् । उनले एक छक्का र पाँच चौका प्रहार गरिन् । यसैगरी, सेफाली बर्मालाई पनि सिताले नै पभेलियन पठाइन् । उनलाई विकेटकिपर काजल श्रेष्ठसँग मिलेर आउट गरिन् । सेफालीले ४८ बलमा ८१ रनको शानदार पारि खेलिन् । उनले एक छक्का र १२ चौका प्रहार गरिन् ।

तेस्रो विकेट भारतले १८।३ ओभरमा गुमाएको थियो । भारतकी सजीवन साना ११ बलमा १८ रन बनाएर आउट भइन् । उनलाई कविता जोशीले एलबीडब्ल्यू आउट गरिन् । भारतका जेमिना रोड्रिगेजले १५ बलमा ५ चौकाको मद्दतले नटआउट २८ रन बनाउँदा रिचा घोषले ३ बलमा एक चौकाको मद्दतले नटआउट ६ रन जोडिन् । नेपालका लागि सिता रानामगरले सर्वाधिक २ विकेट लिँदा कविता जोशीले एक विकेट हात पारिन् ।

सिताले ४ ओभरमा २५ रन खर्चिदा कविताले ४ ओभरमा ३६ रन दिइन् । यस्तै, कविता कुँवरले २ ओभरमा २० रन खर्चिदा सबनम राईले ४ ओभरमा ४१ रन दिइन् । यस्तै, पुजा महतोले १ ओभरमा १३ रन दिँदा रुविना क्षेत्रीले १ ओभरमा १४ रन खर्चिइन् । यसैग्री इन्दु वर्माले ४ ओभरमा २९ रन खर्चिन पुगिन् । समूह ए बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थानमा बनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ४९ बजे