Logo

मुख्य समाचार

‘प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने रुचि समेत नदेखाएका कारण समाजमा दुषित परिणाम निस्किने खतरा बढेका कारण दुई दल मिल्नुपरेको बताए ।

उनले भने, ‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न । तर यति चाँही भन्छु कि नेपाली कांग्रेस र नेकपा एमालेले पटक पटक काँध हाल्दा समेत अघिल्लो सरकारले गति समात्न सकेन् । सरकारले थिति बसाल्न सकेन् । थिति बसाल्ने रुचि पनि राखेन । जसका कारण समाजमा अनेकन दुषित परिणाम निस्किने खतरा बढ्यो । त्यसलाई टुलटुल हेरेर बस्न सकेनौं ।’

एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि खास समयमा सहकार्य गरेर परिणाम दिनेगरि काम गरेको बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी हौं । विचारमा प्रतिस्पर्धा गरेपनि खास समयमा सहकार्य गरेको र देशलाई परिणाम दिएकै हो । २००७ सालमा राणा शासन अन्त्यका लागि एक भएका थियौं । त्यसपछि पनि थुप्रै कालखण्डमा एक हुँदै आएका छौं,’उनको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ४५ बजे