Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनः उम्मेदवारी टुंग्याउनै महाभारत



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका करिव ४३ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिबाट पनि प्रतिनिधि काठमाडौं पुगिसकेका हुन् ।  आज शुक्रबार १४औं महाधिवेशनको उद्घाटन हुनेछ ।

केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार शजिबार उम्मेदवारहरुको  मनोनयन दर्ता गर्नुपर्नेछ । कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो पनि धेरैको छ, तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गरेका तथा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको आकांक्षा राखेका नेतहरु गुटको आधिकारिक समूहमा पर्ने/नपर्ने अन्यौलमा छन् । महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म देउवा पक्ष र पौडेल पक्ष दुबैले उम्मेदवारको टुंगो लगाउन सकेको छैनन्  । 

कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । 

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जनाका लागि निर्वाचन हुने भएपनि अहिलेसम्म कुनै पनि समूहले उम्मेदवारहरुको घोषणा गर्न सकेको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ४२ बजे