Logo

धर्म / संस्कृति

बौद्ध धर्म नेपाल–भारतको सम्बन्धलाई जोड्ने शक्ति हो : दूताबास



काठमाडौं । भारतीय दूताबासले भगवान् बुद्धले भारतको सारनाथमा आफ्ना पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिनुभएको क्षणलाई आषाढ पूर्णिमा उत्सवका रुपमा मनाएको छ ।

दूताबासले आइतबार आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न बौद्ध  सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

‘भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो । बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले हामीलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ,’ दूताबासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । साथै बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।

दूताबासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुई देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए ।

उनले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५० बजे