Logo

खेलकुद

‘खेलाडीमाथि लगानी गर्न नसकेसम्म गौरवशाली इतिहास निर्माण गर्न सकिँदैन्’



काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्तमान सरकारले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बधाई कार्यक्रममा उनले यो सरकार दिर्घकालिन रुपमा रहने सरकार भएको भन्दै यसले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘खेलकुदमा वेथिति छ होला, समस्या छ होला, वेथिति र समस्याको समाधान हामी आफैले गर्नुपर्छ अरु कसैले आएर गर्दैन् । खेलकुद क्षेत्रमा भएको समस्या समाधान हुन्छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यो सरकार दिर्घकालिन रुपमा रहने सरकार हो । त्यसकारण यसले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु ।’

यस्तै, उनले पूर्व मन्त्रीहरुले उठाएको विषयलाई छलफल गर्दै कानूनमा टेकेर अगाडि बढ्ने बताए । उनले भने, ‘नेपालमा खेलकुद ऐन छ, कुनै पनि समस्या समाधानको लागि ऐन, कानून छ । कानूनमा टेकेर अगाडि बढ्ने हो । केही नीति पूर्व मन्त्रीले पनि ल्याउनु भएको छ होला त्यो विषयमा छलफल हुन्छ र काम पनि अगाडि बढ्छ ।’

बजेट जति बढेपनि खेलकुदमा बढ्न नसकेको भन्दै खेलाडीमाथि लगानी गर्न नसकेसम्म गौरवशाली इतिहास निर्माण गर्न नसक्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : ३५ बजे