Logo

अर्थ

दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान



तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि ९० लाख बजेट विनियोजन भएकोमा ४८ दशमलव ५९ प्रतिशत प्रगति भएको उनी बताउँछन् ।

जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी सहकारीमार्फत दूध विक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको चौधरीले बताए ।

कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८.५४ लिटर उपलब्धता छ ।

घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत २२८ रोपनी क्षेत्रफलमा घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराइएको छ । यो कार्यक्रमका लागि रु १८ लाख ६० हजार बजेट विनियोजन भएकामा ६ लाख ८१ हजार खर्च भएको छ । रासस

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ४२ बजे