Logo

मुख्य समाचार

कास्कीमा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको पुष्टि



कास्की ।  अविरल वर्षाको कारण पोखरा महानगरपालिका–१९ तल्लाकोट टारी बस्ने ४६ वर्षीय कुल बहादुर परियारको घर बिहीबार राति पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर कुलबहादुर परियार उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरीहरू १५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, ज्वाई २५ वर्षीय अस्मित परियार र सोही ठाउँ बस्ने ५६ वर्षीया राधिका परियार रहेका छन् । साथै पहिरोमा पुरिएर घाइते भएका २ जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–३२ चैनपुर स्थित बाह्रबिसे बस्ने ४० वर्षीया आरती ओझाको घर गएराति पहिरोले पुरिँदा उनकी छोरीहरू १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र उनकै दाइको छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा अनिता मृत फेला परेको तथा अनुष्का र प्रतिक बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा अनुष्का र प्रतिकको शव फेला परेको हो ।

अविरल बर्षाकै कारण मादी गाउँपालिका–११ तल्लो ताप्ले बस्ने ८० वर्षीया माईती कुमारी गुरूङको घर गएराति पहिरोले पुरिँदा माइती कुमारीको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा माईती कुमारीको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । साथै उनको छोरा ५५ वर्षीय ओम बहादुर गुरूङलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ४४ बजे