Logo

मुख्य समाचार

मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई हाम्रो साथ : अब्दुल खान



काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको विपक्षमा बोल्दै उनले यस्तो बताएका हुन् । दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्तासमीकरणलाई स्वागत गरेको उल्लेख गरे ।

“उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिक उपचार गरेको छ । अब चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यकता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय सीके राउतजीले यही रोष्ट्रमबाट तीन, चार महिना अगाडि भन्नु भएको थियो– ठूला दलहरू मिल्नुस, मिलेर देशलाई निकास दिनुस । वास्तवमा आज त्यही समय आएकाले हाम्रो पार्टीको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु,” उनले भने ।

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : २२ बजे