Logo

मुख्य समाचार

आधुनिक विश्वको बढ्दो प्रविधि सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा



काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधि क्षेत्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने भएका कारण आइसीटी क्षेत्रको विकासका लागि सरकारले नेपालको आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसीटीलाई समेत समावेश गरेको बताएकी छिन् ।

बिहीबार ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अगामी आर्थिक वर्षको बजेटमा २०८० को दशकलाई नै आइसीटी दशकका रुपमा मनाउने सरकारले नीति लिएको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिलेको युग आइसीटीको युग हो । आइसीटी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने क्षेत्र हो । यसमा हामी कसैमा पनि दुईमत हुनुहुँदैन । पछिल्लो समयमा आएर नेपाल सरकारले सूचना प्रविधिको महत्वलाई आत्मसाथ गर्ने कुरामा गम्भीर भएर लागेको छ । आइसीटी क्षेत्रको विकासका लागि सरकारी तहमै एकरुपता थिएन । आज पनि कतिपय कुरामा छैन् । तर पनि हामी लामो समयको छलफलपछि एकरुपता बनाउन सफल भएका छौं । अहिलेको बजेट कार्यक्रममा नेपालको आर्थिक विकासका रणनीतिक क्षेत्र भनेर आइसीटीलाई समावेश गरेका छौं । यसभन्दा पहिले कृषि, उर्जालगायतका क्षेत्रमा मात्र सरकारको ध्यान जाने गरेकोमा आधुनिक विश्वको बढ्दो प्रविधिलाई पनि सरकारले प्राथमितामा राखेको छ ।’

गत आर्थिक वर्षमै सातवटै प्रदेशमा आइसीटी रिसर्च सेन्टर स्थापना गर्ने र सबै तहका सरकारसँग समन्वय गर्ने नीति लिएको भएपनि दुरसंचार प्राधिकरण विभिन्न समस्यामा अल्झिँदा त्यो कामले पु्र्णता पाउन नसेकको उनको भनाइ छ । 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १ : २३ बजे