Logo

मुख्य समाचार

‘सरकारले प्रतिष्ठान बनाइदिए आवश्यक जनशक्ति उत्पादन गरेर देखाउँछु’



काठमाडौँ । राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी चुनौती र भावी कार्यदिशाका बारेमा छलफल गरेको छ ।

बुधबार सिंहदरबार स्थित राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा विषयमा सरोकारवालाहरुसँग छलफल गरेको हो ।

बैठकमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठले अङ्गदान र प्रत्यारोपणको भवन निर्माणका लागि सरकारसँग माग गरेको जग्गा अझै उपलब्ध हुन नसकेको गुनासो गरेका छन् ।

उनले आफ्नो प्राविधिक काम भएतापनि सरकारले गर्नुपर्ने साना-साना कुरा पनि पूरा गर्न नसकेको भन्दै उनले उदाशिलता र चलखेलको चपेटामा प्रत्यारोपण केन्द्रहरु परेको बताए ।

उनले भने, ‘वर्षमा २ सय भन्दा बढिको ज्यान बचाउँने संस्थालाई एउटा जग्गा गतिलो नदिने एउटा भवन नबनाइदिने हाम्रो संस्थाबाट सरकारले जग्गा दियो भने तीन सय बेडको भवन निर्माण गछौ पनि भने तर भएन रोकिन पर्ने कारण छैन् । सानो तिनो स्वार्थको लागि यति ठूलो कुरा रोकिन्छ यो देशमा । आफ्नो प्राविधिक काम चाँही गरियो तर सरकारले गर्नुपर्ने साना साना कुरामा पनि यति धेरै समस्या किन? सरकारले कर्मचारीले काम गरे कि गरेन सोध्छ तर मैले सरकारलाई सोध्ने मौका छ । यो गर्न उदासिनता किन के को चलखेल छ ?’

डा. श्रेष्ठले सम्बन्धित मन्त्रालयका मन्त्रीसँग बारम्बार अनुरोध गर्दा समेत सहयोग प्राप्त गर्न नसकेको बताए । जग्गा उपलब्ध भए छ महिनामा तीन सय बेडको भवन निर्माण र प्रतिष्ठान बनाइदिए देशभरी चाहिने जनशक्ति उत्पादन गर्ने उनको दाबी छ ।

उनले भने, ‘मैलै मन्त्रालयमा गएर पनि कुरा धेरै राखे कानुन मन्त्रालय धाए त्यहाँ पनि चलखेल छ । मलाई जग्गा उपलब्ध गराइदिनु होला म छ महिनामा तीन सय बेडको भवन बनाएर देखाउने छु । प्रतिष्ठान बनाइदिनुहोला देशभरी चाहिने जनशक्ति म उत्पादन गरेर देखाउँछु ।’

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ५८ बजे