Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल र नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा आउँदो वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी सरकारले प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकताको यो क्षेत्र अर्थतन्त्रको संवाहकका रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्यप्रति उत्तरदायी संस्थाका रूपमा रहेकाले यो सम्झौता अघि बढाइएको ग्लोबल आइएमई बैंकका डीसीईओ पोखरेलले बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुंगा साबित हुने उनको भनाइ छ ।

बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने बताइएको छ ।

७७ जिल्लाका ३५४ शाखा कार्यालयबाट भौतिक रूपमा बैंकिङ सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल युनिभर्सजस्ता प्लाटफर्ममार्फत थप पहुँच विस्तार गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : २३ बजे