Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा



कामठाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ ।‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऊँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो । 

पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ । कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिने’मा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ । तर, सोमा कुनै निर्णय भने भइसकेको छैन ।

 ‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, सो’दयगतमा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने । तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरेको छ । प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । 

यी विभिन्न स्थानमा भूगोलका आधारमा मतदानको व्यवस्था मिलाइनेछ । यसैगरी, मतदानका लागि अहिलेसम्म २ सय ९३ वटा बुथ राख्ने तयारी भइरहेको छ । यस्तै, मतपत्रमा मत हालिसकेपछि सो मतपत्र खसाल्नका लागि १ हजारवटा बक्स राख्नेगरी तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिएका हुन् । कांग्रेसको नेतृत्व चुन्ने प्रक्रियामा एक मतदातालाई मतदान गर्न कागजी प्रक्रियामा जाँदा औसतमा ४५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।

कांग्रेस महाधिवेशनमा ७७ जिल्ला तथा विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट गरी करिब ४६ सयको संख्यामा महाधिवेशन प्रतिनिधि मतदानको प्रक्रियामा सहभागी हुने अनुमान छ । कांग्रेस महाधिवेशन २४ मंसिर १ बजे भृकुटीमण्डपमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । कांग्रेसले महाधिवेशनको प्रचारप्रसारका लागि सडकका विभिन्न भागमा डिजिटल बोर्ड तथा होडिङबोर्ड राख्ने तयारी गरेको छ भने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गर्ने तयारी गरेको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ५८ बजे