Logo

Breaking News 1

नेकपा एस महाधिवेशन : सुरक्षाको जिम्मेवारी तोकियो, बासको व्यवस्था आफैं गर्नुपर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।

सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त छन् ।

कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल छन् ।

त्यस्तै, महाधिवेशनमा आउने प्रतिनिधिहरुले बसोबासको प्रवन्ध आफैँ मिलाउनुपर्ने भएको छ । पाँच दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिहरुका लागि खानाको भने व्यवस्था गरिएको छ ।

बिहान् बेलुकाको खाना र दैनिक चिया र खाजा महाधिवेशनस्थलमै खुवाउने गरी क्याटरिङलाई जिम्मा दिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

उनका अनुसार महाधिवेशनमा एक हजार ७ सय ७८ प्रतिनिधि सहभागी हुने छन् । र, उनीहरुले बासको लागि सम्बन्धित जिल्ला कमिटीको सहकार्यमा आफैँ व्यवस्थापन गर्नुपर्ने छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ५३ बजे