Logo

मुख्य समाचार

‘नेताहरुले श्रम गर्न छोडे, चन्दाको पछि दौडे’ : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिष्ट पार्टीहरुको उदय श्रमिककै बलमा आएको भएपनि नेतृत्व तहमा पुगेका नेताहरुले श्रम गर्न छोडेको टिप्पणी गरेका छन् ।

शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरु चन्दाकै पछि दौडेको आरोप लगाए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो । तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौं । मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्यो । कम्युनिष्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ । मास्टर डिग्री गरेको छ तर, १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन् । यो एउटा परम्परा बन्दै गएको देखिएको छ ।’

कम्युनिष्ट नेताहरुमा आफ्नो क्षमाता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृति हावी हुँदै गएको उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे ।

‘कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टी बनाउनुपर्दछ । जसले जेजति योग्यता हासिल गरेको भएपनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ । विज्ञ भएपनि आफ्नो क्षेत्रमा गरेपनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ ।’

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ४ : ०७ बजे