Logo

कोशी

गृहमन्त्री विराटनगर आएकै बेला प्रदेश योजना आयोगका उपाध्यक्षको गाडीमा आगजनी



विराटनगर । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् ।

मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको छ ।

विद्यार्थीहरूले दुर्व्यवहार गरेपछि नगर रक्षकहरूसँग भएको झडपमा केहि नगर रक्षक समेत घाइते भएका छन् । सो घटनामा संलग्नलाई छाड्नु पर्ने दबाब दिँदै विद्यार्थीहरू आन्दोलित छन् ।

निजी विद्यालयहरूले आफूखुसी कानून विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र विद्यार्थीहरू गएका थिए । सो क्रममा उनीहरूले दुर्व्यवहार गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् ।

पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको आरोप छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ११ : २१ बजे