Logo

अर्थ

अर्थमन्त्रीको आग्रह : व्यवसायीहरु नेपालमै मोबाइल फोन उत्पादन गर्नुस्



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल फोन उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । मोबाइलमा बढ्दो आयातलाई कम गर्न नेपालमै मोबाइल फोन उत्पादन गर्नुपर्ने सुझाव उनले दिएका हुन् ।

नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बुधबार बोल्दै अर्थमन्त्री शर्माले नेपालमै मोबाइल उत्पादन गर्नका लागि आवश्यक सहजीहरण गर्ने समेत बनाए । उनले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडीएमएस तत्काल लागू हुने समेत दाबी गरेका छन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘मैले अबैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागू हुने एमडीएमएसबारे हिजो मात्रै थाहा पाएँ । मैले हिजै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु । तत्काल नै लागु हुन्छ ।’

तर, बैध रुपमै धेरै मोबाइल फोन आयात भइरहेको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘केलाई अबैध भन्ने हो रु यहाँ त बैध रुपमा अबैध आयात भइरहेको छ । मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अबैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अबैध सुन आयात भइरहेको छ । यसैगरी मोबाइल फोन पनि आयात भइरहेको रिर्पोट आएको छ ।’

विभिन्न देशहरुबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भई बिक्री भइरहेको भन्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘मोबाइल फोनले हाम्रो आवश्यकताअनुसार चल्न सहज भएको छ । यसमा कनेक्टिभी, सञ्चार, मनोरञ्जन, सूचना सबै अटाएको छ । यो अत्यावश्यक बस्तु भएको छ । त्यसकारण पनि मोबाइलमा सरकारले कडाई गर्न नै सक्दैन । बिलासिताको बस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन, ढुक्क हुुनुस् ।’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०६ बजे