Logo

मुख्य समाचार

रक्षामन्त्री उप्रेती भन्छन् : युवा चिन्तन सकारात्मक हुनुपर्छ



काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले युवापुस्ताको चिन्ता सकारात्मक भएमात्रै मुलुकले समृद्धितर्फ फड्को मार्न सहज हुने बताएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बैंक ऋणको किस्ता तिर्न नसक्दा मनपरी बोल्ने जनशक्ति तयार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

रोजगारी र उत्पादनमूलक काममा ध्यान नदिएर आरामको जीवन मात्रै बिताउन चाहनेको जमात बढेको उनले बताए ।

उनले भने,‘अहिले बैंकको ऋण खाएर सिस्ता तिर्न नसक्दा नेपाल नै जिम्मा लगाउनुपर्छ भन्ने, गाडी सस्तोमा किन्नुप¥यो भने पनि त्यही भन्ने जनशक्ति तयार भएको छ । अहिले यो मुलुकमा यो सबै स्थिति उचित शिक्षा दिन नसकेको कारण हो ।’

उनले रक्षा मन्त्रालयका कामहरु सार्वजनिक नभए पनि प्रगति भने धेरै भएको जिकिर गरे ।  विगतका दिनहरुमा भएका खुट्टा अल्झाउने व्यवस्थालाई लिएर वर्तमान समयमा समेत प्रश्न उठ्ने गरेको उनको गुनासो छ ।

उनले भने,‘अहिले वास्तवमा भएको कामको जानकारी नभएर हिजोका दिनहरुमा भएका जुन विभिन्न किसिमका खुट्टा अल्झाउने व्यवस्थाले गर्दा अल्झिएको थियो । त्यो अल्झिएको व्यवस्थालाई लिएर प्रश्नहरु उठिरहेको अवस्थामा भएका कामहरुको जानकारी भएको छैन । हामीले काम गर्दै कहाँ कहाँ ठेस लागे खुट्टाहरु अल्झिए त्यो विषयमा पनि धेरै जानकारी भएको छ । र प्रगति भएका कुराहरु बाहिर धेरै आएको छैन । किनकी हल्लाहरुमा विभिन्न किसिमको विकृतिहरु आउने गर्छन् ।’

उनले गाउँ गाउँमा अहिले लागुऔषधको डढेलो लागेको भन्दै जसको नियन्त्रण सरकारले पनि गर्न नसक्ने स्थिति सृजना भएको बताए । गाउँमा एउटा योग्य र सज्जन मान्छे बस्न अब नसक्ने स्थिति रहेको भन्दै यो पुस्ताले देशलाई कहाँ पु¥याउने भन्ने चिन्ताको विषय रहेको उनको भनाइ छ ।

उनले भने,‘वन डढेलो लागेको त सेनाले गएर निभाउन सकिन्छ तर गाउँ गाउँमा अहिले लागुऔषधको डढेलो लागेको छ । त्यो लागुऔषधको डढेलो लागेका चाँहि कसैले सकिँदो रहेनछ । नेपाली सेनाले पनि त्यो लागुऔषधको डढेलो निभाउन सकिँदेन । एउटा योग्य सज्जन मान्छे बस्न अब नसक्ने स्थिति छ । यो जेनेरेसनले देशलाई कहाँ पु¥याउने हो ? त्यसैले त्यस्तो कार्यबाट हामीले जोगाउन जरुरी छ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ४ : ३३ बजे