Logo

समाचार

यौन दुर्व्यवहारको आरोप लागेपछि निर्मल पुर्जाको प्रतिक्रिया: म कानुनी उपचार खोज्छु



काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबरजस्ती वस्त्रहरू खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

तर लोताले गत डिसेम्बरमा प्रकाशन गरेको बायोग्राफी ‘द माउन्टेन्स अफ माइ लाइफ २’मा उनले यस्तो आरोपको पहिलो पटक खुलासा गरेकी थिइन् । पुस्तकमा उनले एक चर्चित आरोहीले दुर्व्यवहार गरेको उल्लेख गरे पनि पुर्जाको नाम भने खुलाएकी थिइनन् । बिहीबार मे ३१ मा प्रकाशित न्युयोर्क टाइम्सको समाचारमा भने पुर्जाको नाम किटान गरेर उनले आरोप लगाएकी छन् ।

पुर्जाले भने आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । लोता हिन्स्टालगायतको आरोप आरोप झुटो भएको दाबी गर्दै उनले यसविरुद्ध कानुनी विकल्प खोज्ने बताएका हुन् ।

पुर्जाले आफ्नो इस्टाग्राम ‘निम्सदाइ’को स्टोरीमा पोस्ट गर्दै उनले उक्त पत्रिकालाई यसअघि नै उक्त आरोप साँचो नभएको प्रमाण दिएको जिकिर पनि गरेका छन् । उनले समाचारमा धेरै तथ्य गल्ती रहेको दाबी गरेका छन् । यस विषयमा एकदिन सत्यतथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ११ बजे