काठमाडौं । स्पन्ज आइरनमा कसैको अनुहार हेरेर करका दर हेरफेर नगरेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।
बजेटपछि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पुनले यस्तो बताएका हुन्।
उनले कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको पनि बताए। पुनले स्क्र्यापमा १ प्रतिशत, स्पन्जमा २.५ प्रतिशत र बिलेटमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको बताएका छन्।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताएका छन्।
उनले करका दर औचित्य सहित परिवर्तन गरिएको बताए।
आम जनतामा आशा जगाउने प्रयत्न गरिएको अर्थमन्त्रीको भनाइ छ। उनले आफूहरू सीमाले दिएसम्म निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न थालेको बताउँदै अब पनि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने जानकारी दिए।
उनले बजेटमा केही प्राविधिक त्रुटी देखिएपनि अन्य हिसाबले सही रहेको बताएका छन्। चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गरिएका प्रक्षेपणको कारण पनि यसपटक दबाब परेको बताएका छन्।
उनले चितवन, पोखरा र लुम्बिनी क्षेत्रलाई आर्थिक गतिविधिको त्रिभुजका रूपमा विकास गर्न खोजेको पनि जानकारी दिए।
उनले बजेट बोक्ने झोला नेपाली प्रयोग भएको र अब आफ्नो मन्त्रालयमा नेपाली फर्निचर मात्रै प्रयोग गर्ने योजना रहेको समेत बताए।
‘जति सकिन्छ सानो भए पनि सुधार गरौं भनेर लागिएको छ,’ उनले भने।
उनले पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरेर पनि छिटो आयोजना सकौं भन्ने नीति सरकारले लिएको बताए।










प्रतिक्रिया