Logo

समाचार

फोटोसहितको मतदाता नामावली : ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’



खोटाङ । जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर–२९ देखि आगामी पुस–९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको हो । 

पहिलो चरणमा केपिलासगढी, रावाबेँसी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा  नामावली सङ्कलन गरिने जनाइएको छ । यस्तै, दास्रोचरणमा तुवाचुङ नगरपालिका,ऐसेलुखर्क ,हलेसी दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकामा नामावली सङ्कलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली सङ्कलनमा खटिने कर्मचारी यही मङ्सिर–१३ र १४ गते छनोट गरिने जनाइएको छ । 

यसका लागि कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । 

निर्वाचन आयोगले निर्धारण गरेको कार्य तालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका नायब सुब्बा लोकेन्द्रकुमार राईले बताए । “फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा चार÷चार जना कर्मचारी खटाइनेछ”, उनले भने, “जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।”

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाउने तयारी गरिएको नायब सुब्बा राईले जानकारी दिए । 

नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय खोटाङमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सक्ने नायब सुब्बा राईले जानकारी दिए। 

दश स्थानीय तह रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्क हेर्दा जिल्लामा पछिल्लो चार वर्षको अवधिमा बढेर महिला ६४ हजार ३०२ र पुरुष ६९ हजार ४९४ गरी जम्मा एक लाख ३४ हजार ९६ जना पुगेको छ ।  स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा नागरिकहरु स्वतःस्फूर्तरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिरहेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि मतदाता नामावली दर्ता गराउन आह्वान गरिरहेका छन् ।  

स्था्नीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ४८ बजे