Logo

अर्थ

अजय सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज



काठमाडौं । सरकारले व्यवसायी अजयराज सुमार्गीको स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ ।

शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो । कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषबाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले पुनः अनुमतिपत्र खारेजीको निर्णय गर्न नसक्ने जवाफ पठाएको थियो । 

कम्पनीले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २०७६ को पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको हो ।

कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २४ बजे