काठमाडौं । नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९÷८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता वक्त गरेको छ ।
महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरिसकेपछि आयोजित सार्वजनिकीकरण कार्यक्रममा रायाले आव २०७९÷८० सम्म नेपालको कुल बेरुजु १२ खर्ब पुगेको जनाएका हुन् ।
महालेखा कार्यालयका अनुसार आव २०७९÷८० सम्मको कुल अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब छ । लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको बेरुजु ११ खर्ब ८३ अर्ब पुगेको हो ।
संघीय सरकारी कार्यालयतर्फ गत आर्थिक वर्षमा सबैभन्दा बढी ५४.७४ प्रतिशत अर्थ मन्त्रालयको बेरुजु भएको देखिएको छ । कुल १० मन्त्रालयमा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९७.४२ प्रतिशत छ । त्यस्तै, प्रदेश सरकारतर्फ लेखा परीक्षण अंकको तुलनामा २.०३ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको ३.६७ प्रतिशत र सबैभन्दा घटी सुदूरपश्चिम प्रदेशको ०.७९ प्रतिशत छ ।
प्रतिक्रिया