Logo

कोशी

कोशी सरकार विवादमा सर्वोच्चको निर्णय झिकाउने आदेश



काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई हाटाएर नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख प्रर्शुराम खापुङको निर्णय झिकाउन आदेश दिएको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश द्वय: न्यायाधीश प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकाल इजलासले निर्णय झिकाउने आदेश दिएको हो।

गत वैशाख २८ गते केदार कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ भएको हो। गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए।

अल्पमतमा परेपछि पनि उनले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए। सोही आह्वानपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए।

हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।रिटमा मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति बदर र संविधान अनुसार आफ्नो पदमुक्त हुने व्यवस्था नभएकाले मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग गरिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रतिवादी बनाइएका प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, एमाले सांसद किशोरचन्द्र दुलाल, माओवादी सांसद गणेश उप्रेतीसँग जवाफ माग गरेर विषयवस्तुको गम्भीर्यताका आधारमा पूर्ण सुनुवाइका लागि आजका लागि पेशी तोकेको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १ : ४४ बजे