Logo

समाचार

एमाले महाधिवेशनमा प्रचण्ड नजाने



काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन् ।

माओवादी केन्द्र स्रोतका अनुसार अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने भएका हुन् । ‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं,’ स्रोतले भन्यो,‘पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ होला अहिले टुंगो भइसकेको छैन ।’

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए ।

२०७५ जेठमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष थिए। नेकपामा हुँदा पछिल्लो समय उनीहरूबीच तीव्र मतभिन्नता थियो ।

सर्वोच्च अदालतको आदेशपछि गत फागुनमा नेकपा बनेका एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए ।

त्यसयता ओली र प्रचण्डले सार्वजनिक रूपमै एक–अर्कालाई चर्को आलोचना गरिरहेका छन् । चितवन प्रचण्डको गृहजिल्ला हो। भरतपुरमा उनकी छोरी रेनु दाहाल महानगरकी मेयर छन । एमालेको महाधिवेशन उद्घाटनमा प्रचण्ड जान्छन् कि जान्नन् भन्ने आमचासो थियो ।

एमालेबाट फुटेर बनेको  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले महाधिवेशनको निम्तो नै दिएको छैन । सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार हेलिकप्टरमा चितवन जाँदैछन् ।  

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : २४ बजे