Logo

विचित्र संसार

डाक्टरले खाए गोबर, सामाजिक सञ्जालमा भिडियाे भाइरल



एजेन्सी । गाईको पिसाब तथा गोबर मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको भनेरआयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा भन्ने गरिएको त सुनिएकै हो । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर छिमेकी मुलुक भारतका एक चिकित्सकले भने गाईको गोबर नै खाएका छन् ।

गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको गाेबर खाएकाे भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

स्वास्थ्यलाई फाइदा गर्दछ भनेर गोबर खाने ती डाक्टरको नाम मनोज मित्तल भएको बताइएको छ । गौमूत्र तथा गाईको गोबरको सेवनले विभिन्न गम्भीर रोगबाट छुटकारा मिल्ने उनको दाबी छ । उक्त भिडियोमा डाक्टर मित्तलले क्यामराकै सामुन्नेमा जमीनबाट गाईको गोबर उठाएर क्वाप्पै खाएको देख्न सकिन्छ ।

गोबर खाने बेला उनले गोबरका फाइदाका बारमा बखान गरेका छन् । उनी भन्छन्, ‘गाईबाट पञ्चगव्य प्राप्त हुन्छ, जसको एक/एक हिस्सा मनुष्यको लागि फाइदाजनक छ । गाईको गोबर खानाले हाम्रो तनमन शुद्ध हुन्छ । एकपटक मात्र भए पनि गाईको गोबर खानाले हाम्रो आत्मा पवित्र हुन्छ ।’

चिकित्सा डाक्टर भन्नेले नै गाईको गोबरलाई औषधि दाबी गर्दै खाएको उक्त भिडियोका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएका छन् । मानिसहरूले उनको त्यस्तो दाबीमा प्रश्न चिह्न खडा गरेका छन् । कतिपयले त डाक्टरको पढाइ नै डिग्रीमै प्रश्न उठाएका छन् । केही चाहिँ उनको कुरामा सहमति जनाएका छन् । ती डाक्टरले आफ्नो ट्वीटर प्रोफाइलमा आफू एमबीबीएस तथा एमडी डाक्टर भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ०१ बजे