Logo

मनोरञ्जन

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै



काठमाडौं । मानव अधिकार चलचित्र केन्द्रले ‘नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भर्चुअली गर्दैछ । कोभिड महामारी यथावत नै रहेको भन्दै महोत्सव भर्चुअली आयोजना गरिने बताइएको हो ।

मंसिर ६ देखि ९ सम्म आयोजना हुने महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, लघु चलचित्रलगायत देखाइनेछ । आवेदन दिएका उत्कृष्ट चलचित्रहरु प्रर्दशनमा राखिएका छन् । ‘यस महोत्सवमा चलचित्रहरु मुभी डटकम अनलाईन वेबसाइट लगइन गरेर हेर्न सकिने छ । महोत्सव सुरु भएको दिनदेखि अर्को दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने छ,’केन्द्रको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फिल्म हेरिसकेपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिलाविरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तर्क्रियाको कार्यक्रम गरिनेछ । त्यस्तै ‘ओटीटी प्लेटफर्ममा नेपाली चलचित्र कसरी पुर्‍याउने ? बारे ‘मास्टरक्लास’को पनि आयोजना गरिने बताइएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय विधामाका चलचित्र प्रदर्शनका लागि राखिए पनि नेपाली विधाका फिल्ममा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धीमध्ये निर्णायक टिमले फिक्सन, वृत्तचित्र र महिला चलचित्रकर्मीमा विजेता छनोट गरी पुरस्कार घोषणा गरिनेछ । आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित महोत्सवका निर्णायक हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : १७ बजे