Logo

मुख्य समाचार

लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ



काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

लापसे गरेर सवारी चलाइरहेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दए ।

ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका—१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका—३ का २६ वर्षीय सुशिल परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका—१० का २६ वर्षीय पारस अधिकारी, मधेश प्रदेश ०३—००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका—२ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१—००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका—२ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका—३ का २२ वर्षीय जिवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव,ड्रग्स किटमा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ ।

नागढुङगामा हिजो २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

ट्राफिक प्रहरीले नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाएको छ । चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको एसएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : २३ बजे