Logo

मुख्य समाचार

कांग्रेसले संसदमा उठाएको विषय तथ्यपरक छैन : कानुनमन्त्री गिरी



पोखरा। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नेपाली कांग्रेसले संसदमा उठाएको विषय तथ्यपरक नभएको जिकिर गरेका छन् ‍।

उनले संसद र बाहिर राखिएको विषयमा यर्थाथको धरातलमा पुग्नुपर्ने उल्लेख गरेका हुन् । संसदमा जनसरोकारका विषय उठाइने भएकाले कांग्रेसले उठाएको विषयलाई अन्यथा भन्न नमिल्ने उनको तर्क छ । तर, तथ्य र प्रमाणले पृष्टि नभएको स्थितिमा संसद अवरोध गर्नुले गलत मान्यता स्थापित हुने उनको भनाई छ ।

कांग्रेसले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकाले संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै आइरहेको छ । सोही माग राख्दै कांग्रेसले रवि गृहमन्त्री भएदेखि संसद अवरोध गर्दै आइरहेको छ ।

सोमबार पोखरामा भएको पत्रकार भेटघाट कार्यक्रममा कानुनमन्त्री गिरीले सहकारी प्रकरणमा संसदीय समिति गठनको आवश्यकता नरहेको जिकिर गरे ।

राज्यका निकायबाट नै छानबिनको पक्रिया अगाडि बढिरहेकाले संसदीय छानबिन समिति उपयुक्त नभएको उनको भनाई थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरलेसमेत सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संग्लनता नदेखिएको बताएका छन् । लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको बताउँदै आइजिपी कुँवरले थप प्रमाण नआएकाले रविलाई सहकारी प्रकरणमा मुछ्न नहुने बताएका थिए ।

प्रत्यक सहकारीको विषयमा उच्चस्तरीय समिति बनाउन सम्भव नहुने कानुनमन्त्री गिरीले उल्लेख गरेका छन् । संसदीय समिति बनाउँदैमा समस्याको समाधान हुन्छ भनेर कांग्रेस हतारो गरेकोसमेत उनले आरोप लगाए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ०६ बजे