Logo

मुख्य समाचार

रेडक्रसको विधान महाधिवेशन बैशाखमा


३० फाल्गुन २०८०, बुधबार  

46
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन आगामी बैशाखमा हुने भएको छ । मिति भने टुंगो लागेको छैन । यही फागुन २७ देखि २९ गतेसम्म धुलिखेलमा बसेको सोसाइटीको केन्द्रीय समिति बैठकले विधान महाधिवेशन बैशाखमा गर्ने निर्णय गरेको हो । विधानमा आवश्यक संशोधनका लागि विभिन्न चरणमा छलफल गरी मस्यौदा तयार भइरहेको र महाधिवेशनबाट त्यसलाई पारित गरेर अघि बढ्ने गरी महाधिवेशनको तयारी अघि बढाइएको महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनाका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको छ । लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको र अब विधान महाधिवेशनमार्फत् नीतिगत व्यवस्थाहरू प्रष्ट गरेर अघि बढ्ने तयारी रहेको उनले बताए । रेडक्रसमा राजनीतिक हस्तक्षेप भएपछि विगत चार वर्षदेखि रेडक्रस नियमित कार्यसञ्चालनमा आउन सकेको थिएन । यतिसम्म कि संस्थाको नवीकरण समेत हुन सकेको थिएन ।

महामन्त्री श्रेष्ठले अदालतको आदेश र सरकारको निर्देशनबमोजिम रेडक्रसको महाधिवशनबाट निर्वाचित भएर आएको समितिले संस्था नवीकरण गरी संस्थाको नियमित कार्यसञ्चालनलाई अघि बढाएको बताए । ‘सरकारको निर्देशनबमोजिम २०८० साउन १ र २ गते सम्पन्न निर्वाचनबाट गठित यस केन्द्रीय कार्यसमितिले नेपाल सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरू मार्फत् मानवीय कार्यमा तल्लीन रहेको सबैमा स्पष्ट नै छ ।

संस्था दर्ताको नवीकरणका लागि आवश्यक सम्पूर्ण प्रक्रियाहरू पूरा गरी संस्था दर्ता नवीकरण सम्पन्न भएको छ,’ उनले भने । त्यस्तै, रेडक्रस ऐन तर्जुमा गरी संस्थालाई व्यवस्थित गर्ने प्रयास रहेकोमा सरकारले मस्यौदा समितिबाट काम अघि बढाएको भन्दै बैठकले सरकारलाई छिटोभन्दा छिटो ऐन पारित गरी संस्थालाई व्यवस्थित गर्न समेत सुझाव दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ४७ बजे