Logo

मुख्य समाचार

नयाँ समीकरण असफल पार्न दक्षिणपन्थीहरू सक्रिय छन् : खनाल


२६ फाल्गुन २०८०, शनिबार  

46
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ बनेको सरकारले जनतामा नयाँ आशाको सञ्चर गरेको चर्चा गर्दै  जनताको अवस्था परिवर्तन गर्नेगरी सरकारले काम गर्नुपर्ने सुझाएका छन् ।  तर, उनले नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको उल्लेख गरे ।

शनिबार सरकारलाई शुभकामना दिँदै खनालले हाम्रो देशको रणनीतिक महत्वका कारणले नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

‘हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्’ खनालले भनेका छन् ।

तत्कालिन कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेर एमाले, रास्वपालगायतसँग नयाँ सरकार बन्नु सकारात्मक परिवर्तन रहेको तर्क  गरेका खनालले भनेका छन्,‘यो सरकार बन्दा आमजनतामा नयाँ आशाको संचार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन् ।’

प्रगतिशील र समाजवादी शक्तिहरूसँगको नयाँ गठबन्धनले वर्तमान सरकारलाई अझ घनिष्ठ रूपले एकताबद्ध भएर अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने धारणा खनालको छ । तर, उनले नयाँ बनेको सत्ता गठबन्धनलाई फुटाउन कांग्रेस अग्रसर भएकोप्रति व्यङ्ग्य गर्दै गठबन्धनले चुनौतिहरुको एकताबद्ध भएर सामना गर्न मद्दत गर्ने बताए ।

‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन् । यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ ।’

खनालले अगाडिको गठबन्धन सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको, बेरोजगारी र भ्रष्टाचार बढेको बताउँदै अहिलेको बामपन्थी एकता समयको माग भएको तर्क गरे ।

‘वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो र मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ११ : ३६ बजे