Logo

मुख्य समाचार

उपत्यकामा नेपाल प्रहरीको ‘क्विक रेस्पोन्स टीम’


२३ फाल्गुन २०८०, बुधबार  

69
Shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी परिसरले प्रहरीको क्विक रेस्पोन्स टीम (ई–क्यूआरटी) परिचालनमा ल्याएको छ ।

मंगलबार प्रहरी परिसरको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच प्रहरीको ई–क्युआरटी सेवा सञ्जालनमा ल्याएको घोषणा गरिएको हो ।

उपत्यकाभित्र नागरिकलाई शान्ति सुव्यवस्था कायम गर्न र अपराध नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले प्रहरीको क्युआरटी सञ्चालनमा ल्याइएको काठमाडौं प्रहरी उपत्यका कार्यालय रानीपोखरीका एआईजीपी दीपक थापाले बताए ।

उनले भने, ‘समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न अपराध अनुसनधान गर्ने क्रममा नेपाल प्रहरीले विभिन्न पद्धति अपनाउँदै आएका छौं । ई–क्युआरटीले समाजमा शान्ति सुव्यवस्था कायम गरि शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएका छौं ।’

थापाले कुनै पनि अपराधको वस्तुनिष्ट, वैज्ञानिक तथा प्रविधियुक्त अनुसन्धान गर्न ई–क्युआरटी सेवा महत्वपूर्ण हुने बताउँदै यसअघि प्रहरीले चलाएका साइकल गस्ती, आरआरटी, पैदल गस्तीहरु भन्दा नयाँ सेवा प्रभावकारी हुने उल्लेख गरे ।

‘हामीले साइकल गस्ती, पैदल गस्ती, आरआरटी लगायत माध्यमबाट घटनाको अनुसन्धान गरिसकेका छौं । घटना भएको जानकारी आएपछि प्रहरी घटनास्थल कति बजे पुग्यो भन्ने आम चासोको विषय हुन्छ । कति जना आयो सरोकार हुँदैन । काठमाडौंका प्रहरीका सबै विभाग र विटहरुमा रहेका मोटरसाइकलमा ई–क्युआरटी जडित गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘काठमाडौं प्रहरी परिसरले यसका लागि काम गर्नेछ । प्रहरी घटनास्थल पुगे नपुगेको जानकारी लागि लोकेसन र क्यामरासमेत बाइकमै जडान गरिनेछ ।’ नेपाल प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी) चुस्तदुरुस्त बनाउन, राजमार्ग तथा सहरी क्षेत्रमा घटना भएको १० मिनेटभित्र प्रहरी घटनास्थलसम्म पुग्ने व्यवस्था मिलाउने थापाको भनाइ थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : १५ बजे