Logo

मुख्य समाचार

भरतपुरमा भूमिगत र सतह सिंचाईका कारण कृषक खुशी


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा दुईवटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उदघाटन गरिएको छ ।

विहीबार एक कार्यक्रमकाबिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुवै थरीका बोरिङ उदघाटन गरिन् ।

भरतपुर महानगरपालिकामा भूमिगत सिंचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट सातसय बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिंचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।

भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस गरेको प्रमुख दाहालले बताइन् ।

उनले भनिन्,‘पहिलाको सुख्खाग्रस्त ठाँउमा हाराभरा भएका छन् । एक बाली हुने ठाँउमा चार बाली हुन थालेको छ । अहिले कृषकहरु खुसी भएको पाएका छु । १२ महिना भरतपुरलाई सिंचित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ ।’

भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिंचाई र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले बताइन् ।

पश्चिम चितवनका सिँचाईको अभावमा पहिला बाझा रहने खेतहरु अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुनेक्रम सुरु भएको उनको भनाई थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ०२ बजे